Logo

पोखरामा अन्तर्राष्ट्रिय फिल्म महोत्सवः ३० देशका ५३ फिल्म प्रदर्शन हुने

माघ १९ गतेदेखी पोखरामा चार दिने फिल्म महोत्सव हुने भएको छ। सोमबार नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) गर्न लागेको जानकारी दिएको हो। महोत्सवमा लामा तथा छोटा गरी ५३ फिल्म प्रदर्शन गरिनेछ।

निफका निर्देशक मनोज पण्डितले कार्यक्रमको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा फिल्मलाई हेर्ने मात्र नभई बहसको विषय बनाउनका लागि फिल्म महोत्सव गर्न लागिएको जानकारी दिए। ‘हामी कहाँ फिल्महरू कि त विदेशी महोत्सवमा सहभागिता लागि बन्छन् कि बजारका लागि। नोफले यी दुबै चरित्रमाथी विज्ञहरूको अवधारणासहित बौद्धिक छलफलमा केन्द्रित हुनेछ’, पण्डितले भने।

निफमा पछिल्लो दुई वर्षयता बनेका फिल्मलाई महोत्सवमा सहभागी गरेको जनाएको छ। महोत्सवका लागि निफले ३० देशबाट प्राप्त चारसय फिल्मबाट महोत्सवका लागि फिल्म छनौट गरिएको बताएको छ। निफमा उत्कृष्ट फिल्म, सर्ट फिल्म, विशेष महत्वको जुरी सम्मान र नेपाल पानोरमामा फिल्मलाई पुरस्कृत गर्ने पण्डितले बताए।

महोत्सव अध्यक्ष केपी पाठकले नेपाली फिल्मकर्मीमाझ अन्तर्राष्ट्रिय फिल्म निर्माण शैलीको ज्ञान बढाउन यो प्रकारको कार्यक्रमले अर्थपुर्ण बन्ने बताए । ‘कथ्यहरूको उत्सव’ नारा आत्मसात् गरेको निफले उत्कृष्ट फिल्म बनाउने प्रक्रियासँगै दर्शकको फिल्म हेर्ने दृष्टिकोणमा समेत सुधार ल्याउने आवश्यकता महसुस गरेको यसका अध्यक्ष केपी पाठकले बताए । भने, ‘नेपाली भूराजनीतिलाई मनन गर्दै यसपालि भारतीय र चिनियाँ फिल्मको न्यारेटिभ चरित्रमाथि बहस गराउँदै नेपाली फिल्मको न्यारेटिभ खोजी गर्नेछौं ।’ पाठककै नेतृत्वमा यसअघि आधा दर्जन बढि फिल्म महोत्सव भइसकेका छन् ।

महोत्सवमा विभिन्न १० वटा विधागत छलफल कार्यक्रम पनि हुनेछ जहाँ राजनीतिदेखि फिल्मसम्म जोडिएका विज्ञहरुले विचार पोख्नेछन्, सहभागीहरुले बहस गर्नेछन् ।

Comments