‘लालपुर्जा’ रिलिज अन्यौल, १० लाख काण्डमा सेन्सर रोक्न निवेदन
निर्माणको योजनादेखि रिलिजसम्म आइपुग्दा फिल्म ‘लालपुर्जा’ विभिन्न विवादमा पर्दै आएको छ । केहि समय पहिले मात्रै निर्माण घोषणाको समयमा निर्माता रहेका द्वय माधव वाग्ले र टेकेन खड्कासँग पैसाको विषयमा लफडा परेपछि आउट गरेको ब्यानर नेगेटिभ बुद्धसँगको रिलिजको छेकोमा अर्को पैसाको लफडा रहस्य बाहिर आएको छ ।
दुइ बर्ष पहिले नेगेटिभ बुद्ध र गत बैशाखमा रिलिज ‘लभ लभ लभ’ निर्माण ब्यानर सुरज सिने आर्ट्सबीच फिल्म निर्माणमा सहकार्य गर्ने सम्झौता भएको र सोहि समयमा निर्माता बिक्रम सिंह थारु सँगै निर्देशक निगम श्रेष्ठले फिल्म निर्माणको लागी भन्दै सुरज सिने आर्ट्ससँग १० लाख रुपैयाँ लिएको जानकारीमा आएको छ । त्यसको केहि महिनामै आन्तरिक कारणबस दुई ब्यानरबीच सम्बन्ध टुटे पश्चात उक्त रकम फिल्म बनेर रिलिजको समय आउँदा सम्म फिर्ता नगरेपछि सुरज सिने आर्ट्सले रकम फिर्ता नहुँदासम्म फिल्मको सेन्सर रोक्नको लागी चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघमा निवेदन दर्ता गरेको खुलेको छ ।
सुरज सिने आर्ट्सको तर्फबाट निर्मात्री शर्मिला पाण्डेले फिल्म क्षेत्रमा सर्वोच्च मानिने दुइ संस्थामा निवेदन दर्ता गराएकी छिन् । त्यसयता लामो समयसम्म पनि बिक्रमसिंह र उनको कम्पनि पैसा फिर्ता गर्न तयार भएन् । जुन कुरा अब सेन्सर तथा फिल्म रिलिजसम्म रोकिने अवस्थामा पुगेको छ ।
‘२ बर्ष पहिले फिल्म निर्माणमा सहकार्य गर्ने भन्दै १० लाख रुपैयाँ उहाँहरु (बिक्रम र निगम)ले लैजानु भएको थियो पछि सहकार्य टुट्यो पैसा फिर्ता गर्नुहोस् भन्दा बारबार आलटालपछि हामी बाध्य भएर निवेदन दर्ता गर्ने निर्णयमा पुगेका थियौँ, शर्मिलाले फिल्मीनेपालसँग भनिन्, ‘गत बैशाखमा नै फिर्ता गर्ने भनेर नेपाली कागजमा भएको सहमति आजसम्म पुरा भएको छैन् ।’ बारम्बार ताकेता गर्दा पनि दिन्छौं भन्ने झुटो आश्वासन मात्रै दिँदै आएको उनको भनाइ छ ।
त्यसो त निवेदन दर्ता गराएको लामो समयपछि फिल्म रिलिज नजिकिँदासम्म रकम फिर्ता नआएपछि केहि दिन पहिले सुरज सिने आर्ट्सले नेगेटिभ बुद्धको तर्फबाट उक्त रकम फिर्ता गराइदिन निर्माता संघ समक्ष अपिल गरेको थियो । निर्माता संघका महासचिव रोज राणाले यहि पौष २५ लाई तोकिएको फिल्मको सेन्सर मिति पुर्व नै रकम फिर्ता गर्ने प्रतिवद्धता नेगेटिभ बुद्धले जनाएको बताए । निर्माता संघ अन्तर्गतको न्यायिक समितिका सभापति समेत रहेका रोजले यदि उक्त रकम (१० लाख) फिर्ता नगर्दै गर्दा फिल्मको सेन्सरको प्रक्रिया निर्माता संघको तर्फबाट नै रोक्ने र फिल्मको रिलिज पनि अन्यौल हुनसक्ने बताए ।
यसैबीच फिल्मीनेपालसँगको टेलिफोन संवादमा बिक्रमसिंहले भने मिडियाकर्मीको चासोको विषय नभएको भन्दै आफुहरुको व्याक्तिगत हिसाबमा पत्रकार तथा जो कोहिलाई पनि सुचना नदिने भन्दै झर्किएका छन् । आफुहरुले फिल्मको सेन्सर पुर्व रकम फिर्ता गर्ने बचन दिएको भन्दै यो बारेमा अब सबैलाई सुचना दिँदै नहिँड्ने बताएका थारुले भने, ‘तपाइँ अनि मिडियासँगको सरोकारको विषय नै होइन्, कसैको चासोमा जवाफ दिँदै हिड्नुपर्छ भन्ने छैन्’ । २ बर्षदेखि पैसा हातमा लिएर सावाँसम्म फिर्ता नगरी झुटो आश्वासन दिँदै आएका बिक्रमले फिल्मको बारेमा मात्र चासो देखाउन र लेख्न भन्दै चेतावनीपुर्ण जवाफ टेलिफोन संवादमा फर्काएका छन् ।
त्यसो त केहि महिना पहिले मात्रै निर्माता माधव वाग्लेसँगको लफडा पनि चलचित्र निर्माता संघले मिलाएको थियो ।