Logo

केकीसँग लालबाबुको ठुम्का, हजारको नोटमा दिए अटोग्राफ

पुर्व सामान्य प्रशासन मन्त्री तथा प्रतिनिधीसभाका लागी नव निर्वाचित सांसद लालबाबु पण्डितले अभिनेत्री केकी अधिकारीसँग कम्मर मर्काएका छन् । रिलिजको छेकोमा प्रचार प्रसारको लागी देश दौडाहामा निस्केको फिल्म ‘राज्जा रानी’ टिमसँगको जम्काभेटमा बिराटनगरमा केकीसँग लालबाबुले कम्मर मर्काए ।

एकै कार्यक्रममा भेट हुँदा केकीले पुर्व मन्त्री पण्डितसँग एक हजारको नोटमा अटोग्राफ समेत लिइन् । कार्यक्रममा लालबाबुले केकीको सौन्दर्य प्रशंसा समेत गरे । उनलाई राज्जा रानीले बिराटनगर १२ स्थित स्थानीय बखरी बगैंचामा आयोजित पब्लिसिटी कार्यक्रममा समेत मुख्य अतिथि बनाएको थियो ।

उनले तराईमा व्याप्त दाइजो प्रथा बारे बोले । राज्जा रानीले दाइजो प्रथाको कथा नै पर्दामा बोल्नेछ । अब बन्ने वाम सरकारले दाइजो प्रथालाई निरुत्साहित गर्न बेहुली पक्षको परिवारलाई १० हजार रुपैयाँ दिने योजना ल्याउने बताए । उनले फिल्मको कथावस्तु र अभियानलाई सकारात्मक भनेर चर्चा पनि गरे ।

रमेश एमके पौडेल निर्मित फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् । बिराटनगरदेखि सुरु भएको राज्जा रानी क्याम्पेन बुधबार जनकपुरमा हुँदैछ । केकीसहित अभिनेता नाजिर हुसेन र भोर कम्पनीका प्रतिनिधि टोलीमा छन् । पुस २१ गते रिलिज हुने फिल्मसँग मिलेर भोरले तराई र पूर्वी मधेशका जिल्लामा दाइजो र बालविवाह विरुद्ध जागरण अभियान चलाएको छ ।

Comments