‘राज्जा रानी’ टिमसँग केकीको बर्थडे सेलिब्रेसन, गरिन् यस्तो कामना
अभिनेत्री केकी अधिकारीले फिल्म ‘राज्जा रानी’ टिमसँग आफ्नो जन्मदिन सेलिब्रेट गरेकी छिन् । आइतबार अर्थात पौष २ गते परेको जन्मदिन मध्य दिनमा रिलिजको क्रममा रहेको उक्त फिल्मको टिम सँगसँगै सञ्चारकर्मीहरुमाझ सेलिब्रेट गरिन् ।
केक काट्नुपुर्व केकीले भनिन्, ‘मलाई जन्मदिनको एउटा कुरा लाग्छ, बच्चा हुन पाइन्छ ।’ सँगसँगै उनले आफ्नो हरेक जन्मदिन परिवारसँगसँगै फिल्मकर्मी र सञ्चारकर्मीहरु माझ मनाइरहन पाउँ भन्ने कामना पनि गरिन् । बर्थडे केक खुवाउँदै गर्दा केकीले भनिन्, ‘बर्थडेको दिन मनको कुरालाई बाहिर निकाल्न पाइन्छ । ह्याप्पी छु ।’
यसैबीच केकी अधिकारी र नाजिर हुसेन अभिनित फिल्म राज्जा रानीले सोमबारदेखि देशव्यापी पब्लिसिटी अभियान थाल्ने भएको छ । पूर्वको विराटनगरदेखि सुरु हुने अभियान दस दिनपछि पोखरा हुँदै राजधानीमा आइपुगेर टुङ्गिने आयोजित कार्यक्रममा जानकारी गराइयो ।
क्याम्पेनबारे जानकारी दिन आयोजित कार्यक्रममा मैथिली संस्करणको ट्रेलर एवं गीत लन्च गरियो । सामाजिक संस्था भोर नेपालले विराटनगर, बीरगंजसहित पूर्वी तराईका सिनेमा घरमा राज्जा रानीलाई मैथिली भाषामा प्रदर्शन गर्दैछ ।
नेपाली संस्करणसहित उक्त क्षेत्रका दर्शकले पुस २१ मा फिल्म हेर्न पाउनेछन् । भोर संस्थाका संयोजक राजकुमार महतोले बाल विवाह एवं दाइजो विरुद्धको जागरणमा अभियानमा फिल्म रिलिज प्रभावकारी हुने विश्वास लिए ।
फिल्मको कथावस्तु र संस्थाको उद्देश्यमा समानता भएपछि मैथिली भाषामा फिल्म प्रदर्शन गर्न लागिएको उनले जनाए । पूर्वी तराईसहितका नेपालसँग सीमा जोडिएका भारतीय क्षेत्रमा पनि फिल्म देखाइने भएको छ । अभिनेत्री केकीले मनोरञ्जनको माध्यमबाट सन्देश दिन सके सानै भएपनि परिवर्तन आउने आशा राखिन् । अभिनेता नाजिर हुसेनले राज्जा रानीले मनोरञ्जनको माध्यमबाट सामाजिक मुद्दालाई चित्रण गर्ने बताए ।
निर्माता रमेश एमके पौडेलले विदेशीभन्दा नेपाली फिल्मको राम्रो पक्ष बाहिर आउनु जरुरी भएको बताए । आगामी बैशाखदेखि आफू निर्मित नयाँ फिल्म छायांकनमा जाने उनले घोषणा गरे । पश्चिम तराईमा घटित घटनालाई नाटकीय रुपमा चित्रण गरिने पौडेल कथन छ ।
यम थापा निर्देशित फिल्ममा कामेश्वर चौरासिया, दीपक क्षेत्री, संगीता नापित, सरिता राजोपाध्याय, अरुण रेग्मी लगायतको अभिनय छ ।