गीत हिटपछि ‘साइँली’ फिल्म घोषणा, गौरव र मेनुका सँगसँगै
गत बर्ष सर्वाधिक रुचाइएको गीत हो ‘साइँली’ । नेपालमा परिवार र श्रीमती छाडेर विदेशिएको एक युवकको कथा बोलेको गीतले सर्वाधिक चर्चा पायो । गायक हेमन्त राना नायक बने । अब भने ‘साइँली’ नाममा फिल्म निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच बिहिबार फिल्मको औपचारिक निर्माण घोषणा गरियो ।
फिल्ममा लिड अभिनयमा गौरव पहारी र मेनुका प्रधान रहनेछन् । यो जोडी नै ‘साइँली’ गीतमा फिचरिङमा थियो । सर्वाधिक रुचाइयो पनि । त्यसो त अहिलेसम्म पनि गौरवलाई जहिकतै फ्यान तथा सुभचिन्तक मात्र होइन साथी सर्कल’ले भेट्दा पनि ‘साइँला’ को ट्याग पाउँछन् भने ‘साइँली’को उपमा मेनुकाले भेट्दै आएकी छिन् ।
माघ अन्तिम साताबाट फ्लोरमा जाने फिल्मलाई पुर्वी नेपालको धनकुटा जिल्लामा छायाँकन गरिने बताइएको छ । हेमन्त र र गौरवको मुख्य लगानी रहनेछ । यी दुइको नामको पहिलो अक्षरबाट जन्मेको कम्पनि ‘जीएच इन्टरटेन्मेन्ट’को ब्यानरमा फिल्म तयार हुँदा रामबाबु गुरुङले निर्देशनको जिम्मा लिएका छन् ।
‘साइँली’मा अजय पोखरेल, विशाल गुरुङ, मोहन थापा निर्मातामा छन् । गीतको ‘थिम’कै पेरिफेरीमा रहेर फिल्म बन्ने निर्देशक गुरुङले बताए । अभिनेता गौरवले गीत हिट पछि फिल्ममा राम्रो काम गरेर देखाउनुपर्ने चुनौती आफ्नो सामु आएको भन्दै दर्शकको मन जित्ने काम गरिछाड्ने दाबी गरे ।