चलचित्र विकास वोर्ड अध्यक्षमा निकिता पौडेल नियुक्त
लामो समयदेखी रिक्त चलचित्र विकास वोर्डको अध्यक्ष पदमा निकिता पौडेल नियुक्त भएकी छिन् । देशमा निर्वाचनको माहोल चल्दै गर्दा सोमबार बसेको मन्त्री परिषदको निर्णयले वोर्ड अध्यक्षमा पौडेललाई जिम्मेबारी दिने निर्णय गरेको हो ।
पौडेल गोपिकृष्ण फिल्मस् अन्तर्गतको नेपाल चलचित्र विकास कम्पनि तथा टिभी फिल्मीकी अध्यक्ष हुन् । वोर्डमा अध्यक्ष पद रिक्त हुँदाको समयदेखि मुख्य दाबेदारी प्रस्तुत गर्दै आएकी पौडेलसँगै अन्य दुई उम्मेद्वार मनिष पण्डित र निर्देशक नरेशकुमार केसी पनि उक्त पदमा मुख्य दाबेदार देखिएका थिए ।
नेपाली कांग्रेस नेतृत्वको सरकारमा राप्रपा नेपालको समर्थन मिल्दै गर्दा सोहि पार्टी समर्थित पौडेल वोर्डमा पक्का भइसकेको गाईगुईं यसअघि नै चलेको थियो । पौडेल राप्रपा नेपालका कोषाध्यक्ष रहेका उद्धव पौडेलकी छोरी हुन्, वोर्ड अध्यक्षमा पुग्ने पहिलो महिला फिल्मकर्मी हुन्।
निवर्तमान अध्यक्ष राजकुमार राइको कार्यकाल समाप्तीसँगै विकास वोर्ड विगत असार महिनादेखि अभिभावक बिहिन थियो भने सेन्सर वोर्ड अध्यक्ष रामचन्द्र ढकालले कार्यबाहक रुपमा काम सम्हालेका थिए । गत भदौमा सरकारले सुचना तथा सञ्चार मन्त्रामय अन्तर्गतको यो संस्थाको अध्यक्ष पदको लागी खुला आवेदन माग गरेको थियो ।