Logo

निखिलसँग सौगातको भिडन्त पक्का

गत श्रावणमा प्रदर्शनमा आएको फिल्म ‘संरक्षण’मा एकसाथ देखिएका द्वय अभिनेता हुन् निखिल उप्रेती र सौगात मल्ल । फिल्मले व्यवसायिक रुपमा सफलता हात नपारे पनि यी दुइ सँगसँगै पर्दामा आउँदा केमेष्ट्री राम्रै जमेको चर्चा भयो । एक समय एकसाथ स्कृन सेयर गरेका यी अभिनेता अब भने पर्दामा दर्शक आफ्नो पक्षमा पार्नको लागी भिड्ने भएका छन् ।

एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल स्टारर फिल्म ‘पिंजडा ब्याक अगेन’ ले यसअघि नै तय गरेको प्रदर्शन मितिमै सौगात स्टारर फिल्म ‘लालपुर्जा’ आउने भएको छ । आइतबार मात्रै फिल्मको एक गीत रिलिज गर्दै निर्माण टिमले उक्त मितिमा रिलिज लक गरेको हो ।

सिंगल स्कृनका बादशाह मानिने निखिल र भर्स्टाइल अभिनेताको उपमा सौगातका फिल्म बीचको भिडन्त रोचक बन्न सक्छ । त्यसो त पछिल्ला केहि फिल्ममा निखिलले दर्शकबाट राम्रो साथ पाउन सकेका छैनन् । यो फिल्म उनको लागी एक कोणबाट चल्नै पर्ने दबाब पनि छ भने पछिल्लो समय उनलाइ इनिसियल विजनेसको मात्रै राजा भनेर लाग्दै आएको ट्याग मेटाउन पनि फिल्मले दर्शकलाई लगातार हलमा डोहोर्याउन पर्ने अवस्था छ ।

अर्को तर्फ पछिल्लो फिल्म ‘फाटेको जुत्ता’ सफल भएपछि सौगात प्रफुल्लित छन् । तर उनलाई पनि सोलो हिरो बन्दा पर्दामा हिट हुन नसकेको आरोप छ । ‘लालपुर्जा’ पनि मल्टि स्टारर फिल्म हो । सौगातसँगै विपिन कार्की लगायत यो फिल्ममा लिड रोलमा छन् । जसले गर्दा स्टारको उपमा पाएका कलाकारहरुमा प्रतिष्ठाको लडाईं पनि यो पटक हुनेमा शंका छैन् ।

केहि हप्ता पहिले राजधानीमा आयोजित एक कार्यक्रममा ‘पिंजडा ब्याक अगेन’ निर्देशक हिमाल केसी अनि अभिनेता निखिल फिल्मलाई लिएर कन्फिडेन्स देखिएका थिए । पछिल्ला फिल्मले आशातित विजनेस नगर्दै गर्दा निखिल यो फिल्मलाई दिलो ज्यान दिएर लाग्नेमा शंका छैन् । फिल्ममा निखिलसँगै सारा सिर्पाली, ज्याक श्रेष्ठ लगायत लिड रोलमा छन् ।

लालपुर्जा फिल्मको लागि तस्बिर परिणाम

उता सौगात, विपिनसँगै मेनका प्रधान, कामेश्वर चौरासिया, मिरुना मगर लिड रोलमा रहेको फिल्मलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । पहिलो प्रचार सामग्री स्वरुप गीत रिलिज गरेको यो फिल्मका निर्देशक निगम पनि संभावनावान निर्देशकमा गनिन्छन् ।

त्यसैले पनि यी दुई फिल्मबीचको भिडन्त रोचक हुनसक्छ । तर मल्टिप्लेक्समा ‘लालपुर्जा’ अनि सिंगल स्कृनमा ‘पिंजडा ब्याक अगेन’ ले बम्पर विजनेस गर्दा पनि आश्चर्य हुने छैन् किनकी निखिलका प्रायः फिल्मले सिंगल स्कृन कब्जा गर्दै आएका छन् मल्टिप्लेक्समा कमै स्थान पाउँछन् ।

तश्विरः गुगल

Comments