Logo

‘झ्यानाकुटी’को झेल्ली रिपोर्ट, आखिर कति हो कलेक्सन !

गत हप्ता प्रदर्शनमा आएको अभिनेत्री नीशा अधिकारीको निर्माणमा बनेको फिल्म ‘झ्यानाकुटी’ यो शुक्रबारबाट दोश्रो हप्तामा प्रवेश गरेको छ । अन्य कुनै वलिउड तथा नेपाली ठुला फिल्म रिलिज नहुँदाको फाइदा यो फिल्मलाई दोश्रो सातामा मिलेको छ । निर्माण टिमले पहिलो हप्तामा दर्शकको साथ राम्रो पाएक‍ो दाबी गर्दै दोश्रो सातामा केहि पर्दाहरु थप भएको बताएको छ ।

रिलिजको दुई दिनमा नै करोड विजनेस गरिएको दाबी गरिएको फिल्मले पहिलो साताभरी कति कमायो त ? धेरैमा कौतुहलताको विषय छ ।  केहि अनलाइनहरुले निर्माण टिमको भनाइ भन्दै फिल्मले पहिलो दुई दिनमा नै १ करोड ग्रस विजनेस गरेको समाचार लेखेका थिए । तर निर्माण टिमले पहिलो दुई दिनमा नै करोड ग्रस विजनेस गरेको भनि लेखाएको समाचार गलत भएको सिनेवृत्तमा चर्चा छ । फिल्म रिपोर्टिङमा दख्खल सञ्चारकर्मीहरु पनि यो समाचार तथ्यगत नभएको तर्क गरेका छन् ।

फिल्मले पहिलो साता राजधानीबाट ७६ लाख ग्रस विजनेस गरेको वितरक सुनिल मानन्धरले बताए । उनका अनुसार राजधानीका सिंगल स्कृन तथा मल्टिप्लेक्सबाट फिल्मले ७६ लाख ग्रस विजनेस गरेको छ । नेट हिसाब निकाल्दा यो फिल्मको राजधानीबाट प्राप्त पहिलो हप्ताको खास कमाई २५ लाख भन्दा केहि बढि मात्रै हो ।

त्यस्तै फिल्मको मोफसल विजनेस रिपोर्टको लागी बारबार सम्पर्क गर्दा वितरणको जिम्मा लिएको कम्पनि ‘एफडी कम्पनि’का कुनै पनि सदस्यसँग सम्पर्क हुन सकेन् । श्रोतलाई आधार मान्ने हो भने फिल्मले मोफसलमा पहिलो हप्तामा ५० लाख आसपासको मात्रै ग्रस विजनेस गरेको छ । जुन हिसाब जोड्दै गर्दा देशभरबाट पहिलो हप्तामा कुल १ करोड २६ लाख आसपास ग्रस विजनेस यो फिल्मले गरेको देखिन्छ ।

उल्लेखित तथ्य अनुसार यदि पहिलो दुइ दिनको कलेक्सन १ करोड थियो भने त्यसपछिका पाँच दिनमा ‘झ्यानाकुटी’ले जम्मा २६ लाख आसपासको विजनेस गर्यो त ? प्रश्न उठाउन लायक विषय बनेको छ । यो विषयमा बुझ्न निर्देशक तथा निर्माता समेत रहेका सिमोश सुनुवारलाई सम्पर्क गर्दा ‘फोन कल रिसिभ’ भएन् । उल्लेखित तथ्यले फिल्मको बारेमा निर्माण टिमले सुरुवाती दिनमा प्रस्तुत गरेको रिपोर्ट पुर्णतः झुट देखिन्छ । साताभरी राजधानीमा ७६ लाख ग्रस विजनेस गरेको बताएका वितरक मानन्धरले शुक्रबार र शनिबार मात्रै १ करोड उपत्यकाबाट कलेक्सन गरेको बताएको समेत यसअघि बाहिर आएका समाचारमा ‘कोड’ गरिएको थियो ।

सौगात मल्ल, वेनिशा हमाल र सुमि मोक्तान लिड रोलमा रहेको फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ । समिक्षकहरुले फिल्मलाई उत्कृष्ट ठानेका छैनन् । निर्माण टिमले पहिलो सातामा दर्शकबाट उल्लेख्य साथ पाएको बताउँदै गर्दा विजनेस रिपोर्ट भने त्यसको पक्षमा देखिँदैन् ।

Comments