Logo

पटकथा लेखनमा २ दिने प्रशिक्षण, बलिउड फिल्म लेखक अन्जुम काठमाण्डौ आउँदै

बलिउड फिल्मका चर्चित लेखक अन्जुम राजाबली काठमाण्डौ आउने भएका छन् । दुई दिने पटकथा लेखन सम्बन्धि प्रशिक्षणका लागि उनि काठमाडौं आउने भएका छन् ।

राजाबली कान्तिपुर फिल्म एकेडेमीको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । राजाबलीले प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको हलमा दुई दिन पटकथा लेखनका विविध आयाम बारे जानकारी गराउनेछन् ।

एकेडेमीका कार्यकारी अधिकृत प्रकाश पुरीले राजाबलीले डिसेम्बरको १४ र १५ गते पटकथा सम्बन्धि प्रशिक्षण दिने बताएका छन् । ‘विगत एक वर्षदेखि हामी राजाबलीको समयको पर्खाइमा थियौं । अन्ततः उहाँले दुई दिनका लागि प्रशिक्षण दिने समय मिलाउनु भएको छ । यसले पटकथा लेखनमा रुचि राख्ने धेरैलाई फाइदा हुने विश्वास लिएका छौं,’ पुरीले भने ।

२० वर्षदेखि बलिउड फिल्ममा पटकथा लेखकको रुपमा सक्रिय राजाबलीले गोविन्द निहलानी निर्देशित चलचित्र ‘द्रोहकाल’बाट सहायक लेखकको रुपमा लेखन थालेका थिए । उनले प्रकाश झा निर्देशित’राजनीति’, ‘सत्याग्रह’, ‘आरक्षण’, ‘चक्रब्युह’ सँगै ‘पुकार’, ‘कच्चे धागे’ जस्ता फिल्ममा पटकथा लेखन गरेका छन् ।

राजाबली सुभाष घईको फिल्म स्कुल ‘ह्विसलिङ वुड्स’सँगै पुना फिल्म कलेजमा पनि पटकथा लेखन पढाउँछन् । दुई दिन प्रशिक्षणका समयमा उनले कथा चयनदेखि कथाको विकासक्रमका विभिन्न चरणको बारेमा जानकारी बाँड्नेछन् ।

Comments