विनय र सृष्टिको ‘रोमियो एण्ड मुना’ औपचारिक रिलिज घोषणा
गत भदौमा नै प्रदर्शनको चर्चा चलेको फिल्म ‘रोमियो एण्ड मुना’ ले अब भने औपचारिक प्रदर्शन मिति लक गरेको छ । यो फिल्म आउँदो फागुन ११ बाट दर्शकमाझ आउनेछ । वितरण कम्पनिसँगको सम्झौतामा फिल्मको प्रदर्शन मिति फागुन ११ गतेलाई तय गरिएको निर्माता प्रसन्न गोपालीले जानकारी दिए ।
नरेश कुमार केसी निर्देशित फिल्ममा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ । फिल्मको छायाँकन सकेर हामी प्रदर्शनको लागि तयार भएका हौं, निर्माता गोपालीले भने, केही दिनमै फिल्मको पोष्ट प्रोडक्सनको काम सुरु हुनेछ । फिल्मको छायाँकन धरान र राजधानीमा गरिएको हो ।
दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेको फिल्ममा कालिप्रसाद बाँस्कोटा, कोशिस क्षेत्री र गौरव दवाङकरको संगीत छ । फिल्म निर्माणमा प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्य र नायक विनय श्रेष्ठले सहकार्य गरेका छन् ।
युवा वर्ग लक्षित रोमियो एण्ड मुनाको कथा, संवाद र लेखन निर्देशक के.सी कै हो । निर्देशक केसीले शहरिया युवा र ग्रामिण युवती बीचको कथा नै रोमियो एण्ड मुनाको कथा रहेको बताए । ‘दुई अपरिचित युवा युवती बीच मित्रताले उनीहरु आफैंले आफैंलाई पनि कसरी बुझ्दै जान्छन् भन्ने कथा फिल्ममा छ, उनले थपे ।