अष्ट्रेलियामा नेपाली ‘रानी’को प्रतिक्षा, २५ नोभेम्बरमा घुम्टो खुल्ने !
गत कार्तिक पहिलो साता नेपाल रिलिज भएको फिल्म ‘रानी’को अष्ट्रेलियामा शो हुने भएको छ । यहि शनिबार सिड्नीमा यो फिल्मको पहिलो शो हुनेछ । यो फिल्मको फोर नेशन इन्टरनेशनलले अष्ट्रेलिया प्रदर्शन अधिकार खरिद गरेको छ ।
आउँदो शनिबार अर्थात नोभेम्बर २५ तारिखमा सिड्नी स्थित सिभिक थिएटर हर्सभिल्लामा हुन लागेको शो मा अष्ट्रेलिया बस्दै आएका नेपालीहरुले यो फिल्म हेर्न पाउनेछन् । फिल्मको उक्त ‘शो’ को अधिकांश टिकट बिक्री भईसकेको कार्यक्रम व्यवस्थापनको जिम्मा लिएका गोविन्द भण्डारीले बताए । अष्ट्रेलियामा बस्दै आएका नेपालीहरुले फिल्मलाई माया देखाउने विश्वास पनि भण्डारीले पोखे ।
सिड्नीको शो पछि माग अनुसार अन्य शहरहरुमा पनि यो फिल्म प्रदर्शनी हुने भण्डारीको भनाई छ । त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्ममा मलिना जोशी, अनुप विक्रम शाही, सारुक ताम्राकार, मनिषसुन्दर श्रेष्ठ र सुशान खड्काको मुख्य भूमिका छ । दयाराम दाहालले फिल्म निर्देशन गरेका हुन् ।
भानु महर्जनको प्रस्तुति रहेको यो फिल्मका निर्माता विमलमान गुवाजुले हुन् । यम थापाको लेखन रहेको फिल्ममा विजय घिमिरेको संगीत, अर्जुन जिसीको सम्पादन, पुरुषोत्तम प्रधान, सिसन बानिया र मानकृष्ण महर्जनको छायांकन छ ।