केकी र नाजिरको ‘राज्जा रानी’ मैथिली भाषामा रिलिज पक्का
केकी अधिकारीसँगै नाजिर हुसैन स्टारर फिल्म ‘राज्जा रानी’ मैथिली भाषामा समेत देशभर रिलिज हुने भएको छ । निर्माता रमेश एमके पौडेलका अनुसार आगामी पुस २१ गते फिल्म नेपाली सहितको भाषामा देशव्यापी प्रदर्शन हुने पक्का भएको हो ।
क्षेत्रीय भाषामा नेपाली फिल्म प्रदर्शन हुन लागेको यो पहिलोपटक भनिएको छ । मैथिली रिलिजका लागि निर्माण कम्पनी आर्यन फिल्मस र वितरक कम्पनी भोरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
भोरले मैथिलीसहित भारतको प्रदर्शन अधिकार समेत लिने गरि २० लाख रुपैयाँमा सम्झौता गरेको छ । पत्रमा भोर प्रमुख कार्यकारी अधिकृत राजकुमार महतो र निर्माता पौडेलबीच सहमति भएको छ ।
मैथिली खासगरि मिथिला क्षेत्र (जनकपुर र मधेश)मा बोलिने क्षेत्रीय भाषा हो । निर्माता पौडेलले स्थानीय बासिन्दासामु नेपाली फिल्मको पहुँच वृद्धि गर्नका लागि यस्तो कदम लिइएको बताए । ‘यसले देशभित्रै बजार सिर्जना गर्ने विश्वास लिएका छौं’ उनले भने ।
प्रेम कथानक यो फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् । फिल्मको कथावस्तुलाई मधेशी दर्शकले रुचाउने विश्वास निर्माताले लिएका छन् । फिल्मको केहि दिन पहिले मात्रै दुइ गीत रिलिज गरिएको थियो ।