Logo

धरहरा ढल्दाको दृश्य पर्दामा, जापानी निर्देशकको ‘माइ लभ’ ट्रेलर रिलिज

नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा चलचित्रको पर्दामा हेर्न पाइने भएको छ । भूकम्पले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गरेको क्षतिसँगै भूकम्पका समयमा सुरक्षाकर्मी र उद्दारकर्मीहरुले खेलेको प्रशंसनीय भूमिकामा आधारित फिल्म ‘माइ लभ’को अफिसियल ट्रेलर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको छ ।

यही मंसीर २९ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुने फिल्मलाई जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेका छन् । सार्वजनिक ट्रेलरमा भूकम्पको धरहरा ढल्दाको दृश्यलाइ ‘ग्राफिक्स’ गरि देखाइएको छ भने भूकम्प र त्यसपछिको समयको राहत, उद्धारका दृश्यहरु पनि समावेश छन् ।

गणेश लामा, शितल श्रेष्ठसँगै जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका फिल्ममा रहेको छ । यस्तै नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठसँगै जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेत अभिनय हेर्न पाइनेछ ।

‘माइ लभ’ले आफ्नो देशको महत्वपूर्ण सम्पदा स्थलहरुको महत्व दर्शाउदै तिनीहरुको पुनर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश बोकेको निर्माण टिमको भनाइ छ । फिल्म क्रियसन नेपालको ब्यानरमा गणेश लामाले निर्माण गरेको ‘माइ लभ’मा दिनेश सुनामको संगीत, गौरीशंकर धुजुको छायांकन निर्देशन, नारायण जिसीको छायांकन र तारा थापा किम्भेको सम्पादन रहेको छ ।

Comments