‘मिस्टर झोले’को प्रचार प्रतिस्पर्धा, विजेतालाई ३ लाख बढि पुरस्कार
आगामी पुष २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर झोले’ले आफ्नो प्रचार-प्रसार थालेको छ । प्रचारको लागी अन्य फिल्महरुले यसअघि नै गर्दै आएको शैलीमै टेकेर ‘कभर भिडियो कम्पिटिसन’ अगाडी सारिएको छ । केहि समय अगाडी रिलिज ‘ओखती…’ बोलको गीतलाई डान्स र ड्रामा दुवै विधामा कम्पिटिसन आह्वान गरिएको हो ।
पुष २३ गते (जनवरी ७)मा विजेता घोषणा हुने प्रतिस्पर्धाको लागि सोमबारबाट प्रतिस्पर्धा सुरु भइसकेको निर्माण टिमले बताएको छ । यो प्रतिस्पर्धामा इच्छुक जो कोहि पनि सहभागी हुन सक्नेछन् । तर तयार गरिएको भिडियो भने पौष २१ गते (जनवरी ५) सम्म पठाइसक्नुपर्ने छ ।
प्रतिस्पर्धाबाट प्रथम हुनेले १ लाख ५५ हजार, दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुने १ लाख ५ हजार नगत पुरस्कार जित्ने निर्माण ब्यानरले बताएको छ । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मित ‘मिस्टर झोले’लाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । रौनक बिक्रम कडेल कार्यकारी निर्माता रहेको फिल्ममा टेकेन खड्का निर्माता छन् ।
ओखती गीतः
निर्देशक गुरुङकै कथा रहेको फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुनः, पुष्कर गुरुङ, बुद्दि तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ । कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको फिल्मलाई रवि न्यौपानेले खिचेका हुन् । निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा विक्रम स्वारले कोरियोग्राफी गरेका छन् । यो फिल्मको सम्पुर्ण डिजिटल अधिकार हाइलाइट्स नेपालले लिएको छ ।
(यो प्रतिस्पर्धामा सहभागी हुन चाहनु हुने तपाइँ सबैले पौष २१ भित्र आफ्नो सामग्री ([email protected]) मा मेल गर्नुपर्नेछ)