Logo

भुवन अनमोलको पहिलो रोजाई थिईनन् साम्राज्ञी, यसरी भएकी थिइन् ‘ड्रिम्स’मा छनोट

पछिल्लो पुस्ताकी चल्तीकी हिरोइन हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह । हाइ फ्यान फ्लोइङवाला यी सुन्दरी सुरुवाती दुइ फिल्मबाट नै चर्चामा आईन्, हिट अभिनेत्री कहलिइन् । आज यी सुन्दरीको जन्मदिन हो । मंसिर २ गते साम्राज्ञीले २२ औं बताइएको जन्मदिन मनाउँदै गर्दा यहाँ हामी फिल्म उद्योगमा उनि कसरी आईन भन्ने कुरा जोड्दैछौं ।

युवा स्टारको उपमा पाएका अभिनेता अनमोल केसीसँग पहिलो फिल्ममा नै जोडी बाँधेकी साम्राज्ञीले डेब्यू फिल्म ‘ड्रिम्स’मा आफुलाई अभिनयमा अब्बल देखाइन् । त्यसपछि त उनलाई खोज्ने र रोज्ने निर्माता निर्देशकहरुको भीड नै लाग्यो । तर उनले सबैका अनुरोध स्विकार गरिनन् । आफ्नो मन खाएको कथालाई मात्र रोजिन् । दोश्रो फिल्म ‘ए मेरो हजुर २’ गरिन् । त्यो फिल्मले पनि हिट खायो ।

यसरी सुरु भएको थियो फिल्मी यात्राः
निर्माण घोषणाको क्रमदेखि कास्टिङसम्म निर्माता बनेर पछि आउट भएका रबि बस्नेतले साम्राज्ञीलाई ‘ड्रिम्स’सम्म ल्याएका थिए । नाताले रबि साम्राज्ञीका मामा पर्छन् । रबिले साम्राज्ञीलाई अनमोलको हिरोइन अफर गर्दा सुरुवाती चरणमा निर्माता तथा निर्देशन गर्दै गरेका अभिनेता भुवन केसी र अनमोल दुबै जना ‘कन्भिन्स’ थिएनन् । जानकारीमा आए अनुसार केसी बाबुछोराको पहिलो रोजाइमा नपरेकी साम्राज्ञीले अडिशन दिएर फाइनल भएपछि मात्रै ‘ड्रिम्स’को लागी बाटो खुलेको थियो ।

फाइनल अडिशनमा निकालिएको ४ जनाको ‘सर्ट लिस्ट’मा परेकी साम्राज्ञी चार जना मध्ये सबैभन्दा राम्रो काम देखाएपछि मात्रै छनोट भएकी थिईन् । ‘गुड लुकिङ’ र अभिनय क्षमता राम्रो देखिएकै कारण मात्र उनि ‘ड्रिम्स’बाट नेपाली रजतपटमा डेब्यू गरेकी थिईन् । त्यसपछि भने उनले आफुलाई प्रमाणित गरिन् ।

साम्राज्ञीको तेश्रो फिल्म ‘तिमी सँग’ प्रदर्शनको तयारीमा छ भने उनले गर्ने नयाँ फिल्म केहि दिन पहिले मात्रै घोषणा भएको छ । आर्यन सिग्देलसँग साम्राज्ञीले ‘कायरा’ नामको फिल्ममा स्कृन सेयर गर्दैछिन् । छोटो समयमा चर्चाको शिखर चुमेकी अनि काममा अब्बल साबित गरेकी साम्राज्ञीको नाम नेपाली फिल्म उद्योगमा उच्च बनोस् फिल्मीनेपालको तर्फबाट शुभकामना छ ।

Comments