‘लुट २’ पाइरेसीकर्ता रामनाथ पक्राउ, ३० लाख क्षतीपुर्ति माग गर्दै अदालतमा मुद्दा दर्ता
फिल्म ‘लुट २’ पाइरेसीमा संलग्न व्याक्ति पक्राउ परेका छन् । पर्सा जिल्ला स्थायी घर भई हाल काठमाडौंको चाबहिलमा बस्दै आएका ३७ वर्षिय रामनाथ सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो । यो सँगै उनि विरुद्ध प्रतिलिपी अधिकार उल्लंघन कानुन अन्तर्गत मुद्दा दर्ता भएको छ ।
महानगरिय प्रहरी परिसर टेकुको टोलीले सुनुवारलाई सोमबार पक्राउ गरेको थियो । फिल्म निर्माण टिम तथा अन्तर्राष्ट्रिय वितरण सहित डिजिटल अधिकार प्राप्त हाइलाइट्स नेपालको सहयोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । यतिबेला उनि प्रहरी हिरासतमा छन् ।
सुनुवार विरुद्ध निर्माता माधव वाग्लेसँगै हाइलाइट्स नेपाल र नेट टिभीको तर्फबाट ३० लाख क्षतीपुर्ती दाबी सहित जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको छ । मुद्धा उपर दुई पटक पेसी चलिसकेको हाइलाइट्सका महा प्रवन्धक जनक तामाङले फिल्मीनेपाललाई बताए । सुनुवारले नेट टिभीमा फिल्म हेर्दै गर्दा स्कृन रेकर्ड गरेको र सोहि फाइल फेसबुकमा अपलोड गरेको पाइएको छ ।
अदालतमा मुद्धा चलिरहँदा प्रहरी हिरासतमा रहेका सुनुवारले भने आफुले अन्जानमा यो काम गरेको भन्दै पैसा समेत तिर्न नसक्ने भएकोले माफी दिन आग्रह गरेका छन् । यो बिषयमा जिज्ञाशा राख्दा हाइलाइट्स महाप्रवन्धक तामाङले माफी दिने पक्षमा आफुहरु कुनै हालतमा नरहेको बताए । तामाङले पाइरेसीमा संलग्न सुनुवार आइटी सम्बन्धी राम्रै ज्ञान भएको तथा आधा दर्जन जति फेसबुक पेज र युट्युव अकाउण्ट चलाउँदै आएको सम्म पाइएको भन्दै उनको दाबी गलत भएको जिकिर गरे ।
अब सुनुवारले क्षतिपुर्ती तिर्न नसकेको खण्डमा सोहि बराबरको जेल सजाय भोग्नुपर्ने हुन्छ । एक हप्ता पहिले जस्तो ‘निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट २’ पाइरेसी भएको पत्ता लागेको समाचार फिल्मीनेपालले पहिलो पटक सार्वजनिक गरेको थियो । ‘वाच मुभी अनलाइन’ नामको फेसबुक पेजमा यो फिल्म तीन भाग लगाएर अपलोड गरिएको थियो । जुन पेज सुनुवारले नै चलाउँदै आएका छन् ।