फूल फुल्दा काँडा भेटेका आमेशले ‘मेला’ लाग्दा के पाए ?
‘फूलैफुलको मौसम तिमीलाई’ डेब्यू अभिनेता आमेश भण्डारी दोश्रो फिल्म लिएर करिब तीन बर्षपछि पर्दामा आए । पहिलो फिल्मबाट सफलता पाउन नसकेका आमेशको दोश्रो फिल्म ‘मेला’ गत शुक्रबार रिलिज भयो । रिलिजको छैटौँ दिन सकिँदै गर्दा आमेश ‘मेला’बाट सन्तुष्ट भएको बताएका छन् ।
फिल्मीनेपालसँगको कुराकानीमा आमेशले भने, ‘मेरो बुझाईमा मेला हिट हो, रिलिजका पहिला दुई दिन अधिकांश हल हाउसफूल थिए, दर्शकले दिनु भएको साथ र मायाप्रति आभारी छु ।’ आमेशले शनिबार हल-हलमा पुग्दा दर्शकले माया दर्शाएको तथा आफ्नो कामलाई मन पराएको समेत बोले । ‘मेला’को सफलताले अनि दर्शकबाट मैले पाएको मायाले भोलीको दिनमा अभिनय क्षेत्रमा लाग्न थप प्रेरणा र उर्जा मिलेको छ’ आमेश बताउँछन् ।
बसन्त निरौला निर्देशित फिल्ममा आमेशसँगै सलोन बस्नेत र अशिष्मा नकर्मी लिड अभिनयमा छन् । दर्शकमाझ राम्रै लोकप्रिय बनिसकेका सलोनसँग आमेशको जोडी दर्शकलाई मन परेको निर्माण टिम बताउँछ । त्रिकोणात्मक प्रेम कथाको फिल्ममा समावेश कमेडी ‘पञ्च लाईन’मा दर्शकले थप इन्जोई गरेका छन् ।
उता निर्देशक निरौंला फिल्मको पहिलो हप्ताको विजनेसबाट हर्षित भएको बताउँछन् । निरौलाले फिल्मले पहिलो हप्तामा नै लगानी सुरक्षितको बाटोमा रोजिसकेको भन्दै विदेश प्रदर्शनबाट आउने रकम फाईदाको रहने तर्क गरे । शुक्रबारबाट दोश्रो हप्ताको प्रदर्शन चल्दै गर्दा फिल्मले देशभरका ४० बढि पर्दा पाउने बताईएको छ । सुनिल मानन्धरले यो फिल्म वितरणको जिम्मा लिएका हुन् ।