प्रियंकासँग जोडी सुहाउँदैन भन्नेहरुलाई प्रदिपको कडा जवाफ
यतिबेला सिनेवृत्तमा चर्चा छ फिल्म ‘लिलिबिली’मा घोषणा गरिएकी अभिनेत्री रेविका गुरुङ नरहने र उक्त ठाउँ अभिनेत्री प्रियंका कार्कीले लिएको । चर्चा यसमानेमा पनि बढ्यो कि यो फिल्ममा पछिल्लो पुस्ताका स्टार अभिनेता प्रदिप खड्का लिड अभिनयमा देखिँदैछन् अनि उनिसँग प्रियंका ज्वाईन भएको कारण ।
‘लिलिबिली’मा प्रियंका अनुबन्ध भएको समाचार बाहिर आएपछि धेरैले प्रदिपसँग प्रियंकाको जोडी नसुहाउने तर्क गरे, अनुमान लगाए । जुनकुरामा प्रदिपको हिट फिल्म ‘प्रेमगीत’मा पूजा शर्मासँग पनि उनको जोडी फिट नरहेको उदाहरण सम्म दिन भ्याए । तर यो विषयमा प्रदिपले भने भिन्न तर्क गरेका छन् ।
‘लिलिबिली’ छायाँकनको पुर्व सन्ध्यामा सम्पन्न फिल्म ‘हेप्पी डेइज’को प्रियिमरमा उपस्थितीको लागी युके पुगेका प्रदिपले फिल्मीनेपालसँगको कुराकानीमा प्रियंका या जो कोहिसँग पनि जोडी जम्ने र नजम्ने भन्ने अनुमान अहिले नै गर्नु हतार हुने बोले ।
‘फिल्मको मेरुदण्ड भनेको स्कृप्ट हो, स्कृप्टको माग अनुसार कलाकार अनुबन्ध हुन्छन्, त्यसैको निरन्तरता ‘लिलिबिली’मा म र प्रियंका जीको उपस्थिती हो’, प्रदिपले भने, ‘कथाको कनेक्सन अनुसार हाम्रो पेरिङ हुनेछ, निर्देशकको प्रस्तुती र स्कृप्टको बगाईमा हामी उपस्थित मात्रै हुने हो ।’
प्रियंकालाई मिस टिन हुँदादेखि नै चिन्दै आएका प्रदिपको बुझाईमा प्रियंका नेपाली फिल्म क्षेत्रमा धेरै काम र नाम भएकी अभिनेत्री हुन् । अन्ततः उनै प्रियंकासँग एउटै फिल्ममा काम गर्न पाएकोमा खुशी लागेको प्रदिप बताउँछन् ।
‘उहाँ दर्शकहरुको नजरमा जति नै राम्रो अभिनेत्री हो नजिकबाट चिन्ने जान्नेहरुको लागी उत्तिकै राम्रो साथी पनि हो, प्रदिपले ठट्यौली पारामा भने, ‘सुरुमा तपाईं भन्थे अहिले उहाँ तिमी नै भन कम्फर्ट लाग्छ भन्नुहुन्छ ।’
प्रदिपले यसो भन्दै गर्दा फिल्ममा प्रियंकासँगै उनको जोडी बन्छ या बन्दैन भन्ने कुरा पनि महत्वपुर्ण रहन्छ । यो फिल्मबाट अर्की डेब्यू अभिनेत्री जसिता गुरुङले नेपाली रजतपटमा पाईला राख्दैछिन् । त्यसैले निर्देशक मिलन चाम्सले आफ्नो स्कृप्टमा उल्लेखित कलाकारलाई कसरी ढाल्छन् प्रस्तुत गर्छन् त्यो फिल्म बनिसकेपछि थाहा हुने कुरा हो ।
यसैबीच प्रियंका ‘हेप्पी डेइज’को प्रिमियर सकाएर नेपाल फर्केकी छिन् । ‘लिलिबिली’ सेट ज्वाईन गर्न उनि पुनः एक हप्तापछि युके पुग्नेछिन् ।