तेश्रो प्रोजेक्टको तयारीमा न्यौपाने, ८० प्रतिशत छायाँकन अष्ट्रेलियामा
पछिल्लो फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ लिएर दर्शकमाझ आएका निर्माता सरोज न्यौपाने अब नयाँ प्रोजेक्टको तयारीमा जुटेका छन् । हेमराज बिसीको निर्देशनमा दयाहाङ राई र नम्रता श्रेष्ठ स्टारर ‘सम्बोधन’ फिल्मबाट नेपाली रजतपटमा निर्माताको रुपमा भित्रिएका न्यौपाने पुनः तेश्रो फिल्म निर्माणमा अघि बढेका हुन् ।
तीन दिन पहिले मात्रै अष्ट्रेलियामा ‘ग्याङ्गस्टर ब्लूज’को स्पेशल स्कृनिङ सकाएर नेपाल फर्केका न्यौपानेले अबको नयाँ प्रोजेक्टको अधिकांश दृश्य अष्ट्रेलियामा नै छायाँकन हुने पक्कापक्की भएको बताए । अष्ट्रेलियन सहयोगीको नाम गोप्य राख्न चाहेका न्यौपानेले छोटो बसाईमा नै फिल्म छायाँकनको लागी धेरै चाँजोपाँजो मिलाएर फर्केको सुनाए । ८० प्रतिशत अष्ट्रेलियाका दृश्य समावेश हुने फिल्मलाई सिड्नी र व्रिसवेनमा खिचिनेछ ।
‘अनन्या फिल्मस्’ को ब्यानरमा बन्ने अनटाईटल प्रोजेक्ट रोमान्टिक लभ स्टोरी जनरामा बन्नेछ । ‘फिल्मको नाम तय भईसकेको छ, चलचित्र विकास वोर्डमा दर्ता पुर्व गोप्य नै राखौं, न्यौपानेले भने, ‘छिट्टै नै लिड कलाकार तथा निर्देशक सहित मिडियामा आउँनेछौं ।’
देश पुर्णतः चुनावी माहोलमा होमिएको भन्दै चुनावको माहोल सकिएसँगै फिल्मको काम अघि बढ्ने बताईएको छ । न्यौपानेका यसअघिका दुबै फिल्म हेमराज बिसीले निर्देशन गरेका थिए भने उनले आफ्नै ब्यानरबाट नेपाली फिल्म उद्योगमा चम्किलो नक्षत्र मानिएका आशिरमान देशराजलाई डेब्यू दिएका थिए । कलाकार को रहनसक्छ भन्ने जिज्ञासामा उनले फिल्ममा मल्टिस्टारहरु रहने मात्रै मुख खोले ।