आर्यन र साम्राज्ञीको रोमान्स पक्का, ‘एक्सन कट’को जिम्मा लक्ष्मणलाई
अन्ततः फिल्मीनेपालबाट पहिलो पटक सार्वजनिक आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह पर्दामा एकसाथ देखिँदै भन्ने गसिपले सत्यता पाएको छ । आर्यनको फिल्ममा साम्राज्ञी अनुबन्ध भएसँगै फिल्मको नाम पनि फाईनल भएको छ । ‘कायरा’ नाममा बन्ने फिल्ममा आर्यनले साम्राज्ञीसँग रोमान्स गर्नेछन् ।
आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गर्ने समेत पक्का भएको छ । यसअघि ‘धुवाँ यो नशा’ फिल्ममा आर्यनले रिजालको ‘एक्सन कट’मा काम गरेका थिए । ‘कायरा’ नामले नै फिल्म महिला प्रधान रहेको भान दिन्छ ।
आउँदो पौषमा फ्लोरमा जाने संभावित मिति तय भएको फिल्मलाई बर्ष २०७५ को मध्यतिर रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको बुझिएको छ । यसअघि सार्वजनिक समाचार र गसिपमा आर्यनले सेफ ल्याण्डिङ खोज्दै साम्राज्ञी रोजेको भन्ने चर्चा चलेको थियो । तर विश्वस्त श्रोतलाई आधार मान्दा आर्यनलाई साम्राज्ञीले पहिले देखि नै पहिलो रोजाईको अभिनेता मान्दै आएको र आर्यनको अफर पहिलो पटक नै स्विकार गरेकी थिईन् ।
पछिल्लो पुस्ताकी चल्तीकी अभिनेत्री साम्राज्ञी अनि चकलेटी हिरोको उपमा पाएका आर्यन पर्दामा आउने खबर बाहिरिएसँगै दर्शकमा यो जोडीलाई एकसाथ हेर्ने प्रतिक्षा समेत सुरु भईसकेको छ । आर्यनको होम प्रोडक्सनमा बन्ने फिल्म कस्तो बन्छ आर्यन र साम्राज्ञीको जोडी कति जम्छ त्यसको लागी भने दर्शकले रिलिज पर्खिनै पर्छ ।