सौगात च्याप्दै ‘फाटेको जुत्ता २’ घोषणा, प्रियंका टिमबाट आउट
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘फाटेको जुत्ता’ निर्माता अर्जुनकुमारले यो फिल्मको सिक्वेल निर्माण घोषणा गरेका छन् । राजधानीमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रमका बीच उनले फिल्मको सिक्वेल घोषणा गरे । फिल्मले रिलिजको केहि दिनमा नै लगानी सुरक्षित गरेको दाबी गरे ।
शुक्रबारदेखि मंगलबारसम्म २ करोड ग्रस कलेक्सन फाटेको जुत्ताले गरेको भन्दै उत्साहित देखिएका अर्जुनकुमारले यो बर्ष नै निर्माण सम्पन्न गर्ने गरी सिक्वेल निर्माणको घोषणा गरेका हुन् । फिल्ममा निर्माता निर्देशकसहित को टिम दोहोरिने पक्का भएको छ । निकेश खड्काले नै यो फिल्ममा एक्सन कट गर्नेछन् । स्कृप्टको काम अन्तिम चरणमा पुगेको पनि निर्माताले बताए ।
नयाँ बर्ष २०७५ को पहिलो दिन रिलिज गर्ने घोषणा गरिएको फिल्म ‘फाटेको जुत्ता २’मा लिड अभिनयमा सौगात मल्ल सहितका अन्य कलाकारहरु रहने पक्का हुँदा लिड हिरोइन प्रियंका कार्की भने रहनेछैनन् । निर्माता अर्जुनकुमारले ‘हिरोइन नयाँ ल्याउँनेछौं भने प्रियंका किन रहन्न केहि बोलेनन ।’
त्यसो त फिल्मको प्रचार प्रसारको समयदेखि नै अभिनेत्री कार्की र निर्माण टिमबीच फाटो आएको गसिप बजारमा चर्चा चलेको थियो । यो फिल्मको अन्तिम प्रचार प्रसारमा उनि देखिएकी पनि थिईनन् । प्रियंका प्रति रुष्ट बनेका निर्माताले मिडियाकर्मीमाझ धेरै कुरा तपाईंहरुलाई नै थाहा छ बोले ।
त्यसो त बिहिबारको कार्यक्रममा पनि अभिनेता सौगात मल्ल मात्र निर्मातासँगै देखिएका थिए । सौगातले फाटेको जुत्तामा धेरै काम देखाउन अझैं नसकेको भन्दै त्यो भन्दा राम्रो काम सिक्वेलमा देखाउने प्रतिवद्धता जनाए । निर्माता अर्जुनकुमारले सिक्वेल निर्माणलाई ‘फाटेको जुत्ता’लाई दर्शकले दिएको न्यानो माया र साथप्रतिको सम्मान दाबी गरे ।
फिल्मको क्लाईमेक्समा छोडिएको अन्तिम स्टोरीलाई नै सिक्वेलले निरन्तरता दिनेछ । अर्जुनकुमार फिल्मस् र हाइलाइट्स नेपालको संयुक्त ब्यानरमा फिल्म बन्नेछ । कार्यक्रममा अर्जुनकुमार फिल्मस् ले अबदेखि नयाँ फिल्मको राजधानी वितरणको काम पनि गर्ने समेत जानकारी गराईयो ।