‘फाटेको जुत्ता’ पर्दामा, मल्टिप्लेक्समा अग्रिम बुकिङ
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी फिल्म ‘फाटेको जुत्ता’ दर्शकमाझ आएको छ । आगामी हप्ता पर्दामा धेरै फिल्मको भिडन्त हुने पक्का हुँदै गर्दा यो शुक्रबार भने ‘फाटेको जुत्ता’ले सोलो रिलिज पाएको छ । सार्वजनिक ट्रेलर र गीतका कारण फिल्म यसअघि नै केहि हदसम्म प्रतिक्षित बनिसकेको छ ।
‘फाटेको जुत्ता’ देशभरका साठी बढि हलमा एकसाथ रिलिज भएको छ । राजधानीका मल्टिप्लेक्सहरुले यो फिल्मलाई राम्रो ‘शोज’ उपलब्ध गराएका छन् । मल्टिप्लेक्सका केहि पर्दा अग्रिम बुकिङले हाउसफूल बनिसकेका छन् । सिभिल मल तथा लाबिङ मलका दिवाकालिन ‘शोज’ हरुमा दर्शकले अग्रिम टिकट लिईसकेका छन् । निर्माता अर्जुनकुमारले फिल्मप्रति दर्शकले देखाएको चासो र उत्सुकताले सफलताको संकेत गरेको दाबी गरे ।
निकेश खड्का निर्देशकिय फिल्ममा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झा लिड अभिनयमा छन् । तीन बर्ष पहिले रिलिज ‘जीन्दगी रक्स’पछि निकेशको निर्देशनमा बनेको यो दोश्रो फिल्म हो । पछिल्लो समय मधेशको कथामा बनेका धेरै फिल्मले व्यापारिक रुपमा सफलता नपाएको उदाहरण रहँदा ‘फाटेको जुत्ता’ले दर्शकलाई कतिसम्म न्याय गर्छ त्यो भने एक हप्तामै थाहा लाग्नेछ ।