‘मेला’को भारत रिलिज कन्फर्म, भोजपुरी स्टारले लिए अधिकार
कात्तिक २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मेला’लाई भारतमा प्रदर्शन गर्ने अधिकार भोजपुरी स्टार परदेश शाहले लिएका छन् । एस पी खरेलको नामबाट परिचित शाहले १६ लाख रुपैयाँमा भारतमा यो फिल्म प्रदर्शनको अधिकार किनेका हुन् ।
फिल्म ‘मेला’का लेखक, सह–निर्देशक तथा प्रस्तुतकर्ता हरि पन्त र शाहविच संझौतामा हस्ताक्षर भएको छ । वसन्त निरौला निर्देशित फिल्ममा सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीको मुख्य भूमिका छ ।
फिल्मको ट्रेलर र ३ गीत हेरिसकेपछि आफूले भारतमा प्रदर्शन गर्ने अधिकार लिएको परदेशीले बताए । उनले नेपालीहरुको बाक्लो बसाई रहेको भारतको सिक्किम, दार्जलिङ, मुम्बई, दिल्लीमा चलचित्र प्रदर्शन गर्ने बताए । यसका लागि फिल्मको भारतमा चाँडै नै सेन्सर गर्ने र हलहरुमा ‘शो’ किनेर प्रदर्शन गरिने उनको भनाई छ ।
यस्तै, फिल्मका प्रस्तुतकर्ता समेत रहेका पन्तले विदेशी बजारमा नेपाली चलचित्र प्रदर्शन हुँदा निर्माता पनि सुरक्षित रहने र फिल्मको बजार पनि विस्तार हुने बताए । भारत अधिकार बिक्रीपछि फिल्मको लगानीले ‘सेभ’ साईड लिँदै गएको बन्दै रिलिजपछि पनि हलमा दर्शकको साथ मिल्नेमा पन्तले विश्वास पोखे ।