‘रुद्रप्रिया’पछि राजकुमारी बन्दै रेखा, रोयल फेमिलीको कथामा सबिरको निर्देशन
स्टार अभिनेत्रीको उपमा पाएकी अभिनेत्री रेखा थापा स्टारर पछिल्लो फिल्म ‘रुद्रप्रिया’ यतिबेला हलमा प्रदर्शनरत छ । ‘रुद्रप्रिया’ प्रदर्शनको दोश्रो सातामा चलिरहँदा रेखा भने पुनः नयाँ प्रोजेक्टको तयारीमा जुटेकी छिन् । रेखा फिल्मस् को ब्यानरमा अब ‘रत्ना’ बन्ने भएको छ ।
‘रुद्रप्रिया’मा एसिड आक्रमणमा परेकी युवतीको वास्तविक कथा पर्दामा ल्याएकी रेखाले यो पटक पुर्व राजपरिवारको कथा दर्शकमाझ ल्याउने छिन् । फिल्ममा रेखा राजकुमारीको अबतारमा प्रस्तुत हुनेछिन् । फिल्मीनेपालसँगको कुराकानीमा रेखाले पुर्व राजकुमारी रत्नराज्यको कथा फिल्ममा समेटिने बताईन् । उनका अनुसार यसअघि निर्माण घोषणा गरिएको फिल्म ‘कसले चोर्यो मेरो मन फेरी’ कै कथामा यो फिल्म तयार हुनेछ ।
‘रुद्रप्रिया’ घोषणा हुनुभन्दा पहिलेदेखिको तयारी ‘रत्ना’ को थियो, रेखाले भनिन्, ‘सो समयमा कसले चोर्यो मेरो मन फेरी नाममा घोषणा भएको स्कृप्ट नै यो फिल्ममा रहनेछ ।’ ‘रत्ना’को लागी थप गृहकार्य आवश्यक देखिएकोले नै सो समयमा यो प्रोजेक्टलाई थाती राखेर ‘रुद्रप्रिया’ निर्माणमा जुटेको उनले बताईन् ।
पुर्णतः कमर्सियल भनिएको फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गर्नेछन् । श्रेष्ठसँग रेखा फिल्मस् को शुक्रबार यो फिल्मको लागी निर्देशकिय अनुबन्धन हुनेछ । रेखाकै कथामा बन्न लागेको फिल्मको स्कृप्टमा भने निर्देशक श्रेष्ठले यसअघि देखि नै गृहकार्य गरिरहेका छन् । निर्देशक श्रेष्ठसँग कलाकार तथा निर्माता दुबै रहँदा रेखाको क्यामेष्ट्री राम्रो जम्दै आएको छ । उनको निर्देशनमा रेखाले धेरै फिल्म वक्सअफिस हिट दिईसकेकी छिन् ।
लिड अभिनयमा रेखा रहँदा अन्य सबै कलाकार नयाँ रहने रेखा फिल्मस् ले बताएको छ । मुख्य विधाका कलाकार फाईनल भईसकेको भएपनि केहि पछि मात्रै सार्वजनिक गरिने रेखाले बताईन् । आगामी चैत्र महिनाको अन्तिम साताबाट फ्लोरमा जाने यो प्रोजेक्टलाई अर्को बर्षको दशैंमा रिलिज गरिने संभावित मिति तोकिएको छ ।